साहित्य

आधादर्जन हाइकु 'टेकेन्द्र अधिकारी'
१. फुत्केको माछो ।
हनुमाने रजाइँ ।
संविधानसभा ।
२. स्वतन्त्र प्रेस ।
श्रमजीवी कानुन ।
घाँटी थिचियो ।
३. फर्सीको भेट्नु ।
बोर्डिङको पढाइ ।
संस्कृति होम ।
४. सिमलको भुवा ।
विदेशी सहयोग ।
तोरीको फूल ।
५. छोरा र छोरी ।
फुर्सदको पछूतो ।
सस्तो बेसाहा ।
६. विदेशी दाम ।
आफन्तलाई काम ।
समाजसेवा ।
नेपालमाः हिजो र आज 'नवराज सुब्बा'
हिजो
यो देशमा
राजा थिए
उनका वरिपरि
कवि, कलाकार
गायक, इतिहासकार थिए
जो राजाको स्तुति गाउँथे
राजा प्रशस्ति लेखाउँथे
र कृतिम इतिहास रचाउँथे
आज
यही देशमा
राजा छैनन्
तर बाँकी सबै सबै छन्
राजाको बानी ज्यूँदै छ
जो सरुवारोग भई सरेको छ
नेता, अभिनेता साहित्यकार लगायतका
'कार' हरूमा यो बानी सरेको छ
सबैमा राजाको भूत चढेको छ
आज यो देशमा
राजा बन्ने होड चलेको छ ।
देश गरिब हुनु भनेको 'राजु सुब्बा'
देश गरिब हुनु भनेको
छिमेकीकै लागि अघ्र्यालो हुनु रहेछ
धेरैको लागि आँखाको कसिगर हुनु रहेछ
नागरिकहरु अनागरिक हुनु रहेछ
देश गरिब हुनु भनेको
मागि हिड्ने भिखारी हुनुरहेछ
अरुको सामु सधै शिर निहूराउनु रहेछ
आफ्नो इज्वत र प्रतिष्ठाहिन हुनु रहेछ
देश गरिब हुनु भनेको
अन्याय शोषण र अत्याचार सहेर
अपमानित भई भित्रि रोएर बाहिर हाँस्नु रहेछ
आफ्नो मान मर्यादा गरिबी मै हराउनु रहेछ
देश गरिब हुनु भनेको
विदेशीहरुको अपमान, अन्याय र शोषणको बाबजुद
म नागरिकको आफ्नै जाबो सम्पति र बुद्धि सुम्पिएर
देश धनी बनाई यस देशको नागरिक हू भन्न मन लाग्नुरहेछ
त्यसैले ब्यक्तिगत सम्पत्तिले इज्वत दिदैन
स्वतित्व र अस्थित्वको पनि रक्षा हुदैन
देशको विकास र प्रगतिको लागि आपसी झगडाले
आधुनिक विश्वमा देश अघि बढ्न सक्दैन ।