अजिंगरबाट मुटुको उपचारको खोजी
वैज्ञानिकहरू यस्तो विषयको खोजीमा लागेका छन् कि अजिंगरले कुनै सिकार निलेपछि आफ्नो मुटुको आकार कसरी बढाउँछ? अजिंगरको यो प्राकृतिक र विचित्र गुणबाट वैज्ञानिकहरूलाई केही यस्तो जिनेटिक जानकारी हासिल हुनसक्छ, जुन कुराले मानिसको मुटुरोगको उपचारमा कामयावी हुनसक्छ। अमेरिकाको कोलाराडो युनिभर्सिटीका प्रोफेसर लिजली लिनबैन्ड आफ्नो टिमको साथमा यस विषयलाई परिणाममुखी बनाउन जुटेका छन्। उनका अनुसार अद्भुत, सत्य कुरा त के हो भने एउटा अजिंगरले सिकार निलेपछि आफ्नो मुटुको आकार करिब ६० प्रतिशत बढाउँछ। उसले आफ्नो अन्य शारीरिक गतिविधि ४० गुणासम्म तन्काउन (बढाउन) सक्छ। मुटुको वंशाणुगत रोगको बारेमा अध्ययन गर्ने ती लिनबैन्ड भन्छिन्, 'मुटुको मांसपेशीलाई बढाउने अजिंगरको क्षमताले मानिसको मुटुसम्बन्धी कैयौं गम्भीर बिरामीका लागि नयाँ औषधि बनाउने मार्गलाई उज्यालो पार्न सक्छ।'
मुटुको आकारमा बढोत्तरी हुनु विचित्रको कुरा हो। यदि मानिसको मुटु एक्सरसाइजको कारणबाट बढ्छ भने पनि त्यो कुरा लाभदायी हुन्छ। तर यही आकार यदि ब्लडप्रेसरको कारणबाट बढ्यो भने त्यो चिन्ताको विषय हो। बिरामीका कारण मानिसको मुटुको मांसपेशीहरू मोटो हुन्छ र हार्ट चेम्बरको आकार घट्न थाल्छ। मुटुको गतिविधिमा पनि कमी आउँछ। अजिंगरको यस गुणको पछाडिको रहस्य जिनेटिक कारण पत्ता लगाएर मुटुको मांसपेशी मोटो हुने र हाइपरट्राफीजस्ता रोगको उपचार खोज्न सकिन्छ। अनुसन्धानकर्ता लिनबैन्डका अनुसार अजिंगर एकपटकमा आफ्नो तौलभन्दा दुईगुणा गह्रो सिकार खानसक्छ। यसकारण पाचनदेखि तमाम शारीरिक गतिविधिमा नाटकीय रूप देख्न सकिन्छ। यो अवस्थामा अजिंगरको इन्सुलिनको मात्रा पनि ४० गुणाले बढ्छ।
जादूगरको दिमागमा वैज्ञानिकको चक्कर
जादू देखाउने कलाले मानिसको दिमागभित्रको रहस्य पत्ता लगाउन मद्दत पुग्ने कुरा बेलायतमा पछिल्लोपटक सार्वजनिक गरिएको एक अध्ययनमा उल्लेख छ। जादूगरहरूले जादू देखाउनका लागि दर्शकहरूलाई कसरी आकर्षित पार्छ र दर्शकहरूको दिमागलाई एकाग्र बनाउँछ भन्नेबारेमा अनुसन्धान गरिएमा दिमागभित्रको रहस्य पत्ता लगाउन सक्ने दाबी अध्ययनमा उल्लेख गरिएको छ। मानवीय ज्ञान र अनुभवको बारेमा अहिलेसम्म वैज्ञानिकले पूर्ण जानकारी पाएका छैनन्। त्यसको जानकारी पाउन जादूगरले अवलम्बन गर्ने तौरतरिका बेलायत तथा क्यानाडाका दुईवटा विश्वविद्यालयका अनुसन्धानकर्ताले संयुक्त रूपमा अनुसन्धान गरी निकालेको निष्कर्षमा उल्लेख छ।
डाइनोसरको विनाश कसरी भयो?
समुद्री सतहहरू अचानक बढेकोमा डाइनोसरहरूको आमविनाश भएको नयाँ तथ्य अमेरिकाका विस्कन्सन विश्वविद्यालयका एक प्राध्यापकले उद्घाटन गरेका छन्। डाइनोसरलगायत अन्य प्राणीहरूको अस्तित्व र विनाश विकासवादी सिद्धान्तअनुरूप हुने भए तापनि एकाएक डाइनोसरहरू आमविनाश हुनुमा सामुद्रिक तह एकाएक बढ्नु नै रहेको उनले बताएका छन्। अमेरिकाको सामुद्रिक तहको ५४० स्थानको चट्टानको नमुना परीक्षण गरी उनले डाइनोसर विनाश हुनुको उल्लिखित निष्कर्ष निकालेका छन्। १० करोड वर्षसम्म पृथ्वीमा रजगज गरेको डाइनोसर ६ करोड ५० लाख वर्षपहिले एकाएक विनाश भएको थियो। डाइनोसर आमविनाशको कारणलाई लिएर विश्वभर घनीभूत बहस हुँदै आएको छ।
सयवर्षे हजुरआमाले बच्चा जन्माउने पक्का!
सर्वप्रथम टेस्टट्युबबाट जन्मिएकी महिला ३० वर्षे जन्मदिवस जुलाई महिनामा मनाइरहेको बेला सय वर्ष पुगेका महिलाहरूले बच्चा जन्माउने दाबी वैज्ञानिकहरूले गरेका छन्। आगामी तीन दशकभित्रमा सो कुरा सफल हुने वैज्ञानिकको कथन छ। सन्तान जन्माउनेसम्बन्धी औषधिमा भएको प्रगतिले त्यसलाई सम्भव बनाउनेछ। वैज्ञानिकहरूले सन्तान उत्पादनका लागि आवश्यक पर्ने पुरुषको वीर्य र महिलाको अन्डा छालाका सेलबाट निकाल्ने र त्यसलाई प्रयोग गर्न थालेका छन्। सो प्रयोग सफल भएमा अब जुनसुकै उमेरका महिलाले चाहेको समयमा बच्चा जन्माउन सक्नेछन्। चाहे महिलाको उमेर १०० वर्ष नै किन नहोस्। यो प्रविधि आगामी ३० वर्षभित्रमा सफल हुने विश्वास वैज्ञानिकले लिएका छन्। छालाबाट पुरुषको वीर्य र महिलाको अन्डा निकालेर टेस्ट्युबमा राखेर बच्चा जन्माउन कुनै पनि उमेरमा सकिने वैज्ञानिकहरूले बताएका छन्।
छोरीको अन्डा चोरेर नातिको जन्म
जापानमा ६१ वर्षीया एक महिलाले छोरीको अन्डा प्रयोग गरी नातिको जन्म दिएकी छिन्। छोरीको पाठेघर नभएको कारण आमाको पाठेघरमा अन्डा राखेर गर्भाधान गरिएको थियो। जापानमा त्यसरी गर्भ बोक्ने र बच्चा जन्माउने काम गैरकानुनी नभए तापनि बिरलै मात्र त्यसरी बच्चा जन्माउने गरिन्छ। जापानको राजधानी टोक्योको उत्तर–पश्चिम नगरको एक प्रसूति गृहमा हजुरआमाले नातिको जन्म दिएकी थिइन्। हाल बच्चा तथा बच्चालाई जन्म दिने हजुरआमा दुवैको स्वास्थ्य स्थिति सन्तोषजनक रहेको अस्पतालले जनाएको छ।