Sunday, May 9, 2010

२१ नेपाली मलेसियाको जेलमा


क्वालालम्पुर
रोजगारीका लागि दुई साताअघि खाडी मुलुक मलेसिया पुगेका २१ नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै नेपाली १४ दिनदेखि मलेसियाको जेलमा छन् ।
नक्कली भिसा प्रयोग गरेको आरोपमा मलेसिया पुगेकै दिन क्वालालाम्पुर विमानस्थलबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा सतासीधाम-७ का विष्णुप्रसाद रिजाल, केर्खाका होम आचार्य, छत्रबहादुर कार्की र हडिया बुधबारेका न्यौपाने थरका एक युवक छन् । अन्यको नाम खुलेको छैन ।
जेल परेकामध्ये झापा सतासीधाम-७ का रिजालले ससुरा चिन्तामणि निरौलालाई फोन गरी आफूहरू पक्राउ परेको जानकारी दिएका थिए । निरौलाले अविलम्ब उद्धारका लागि पहल गर्न ज्वाइँले आफूलाई भनेको बताए । उनका अनुसार पक्राउ परेका सबै झापाली विर्तामोडको सुपूर्व मेनपावरमार्फत मलेसिया गएका हुन् । काठमाडौंमा एक महिना राखेपछि वैशाखको पहिलो साता उनीहरूलाई मलेसिया पठाइएको थियो । काठमाडौंको राप्ती मेनपावरले उनीहरूलाई पठाएको थियो । सुपूर्वका सञ्चालक शेषलाल चौधरीले जनही एक लाख रुपैयाँ लिएर उनीहरूलाई मलेसिया पठाएको निरौलाले जानकारी दिए । झापाको शिवगन्ज ब्याङडाँडा स्थायी घर भएका चौधरी हाल फरार छन् ।
घटनापछि उनको खोजी तीव्र पारिएको नेकपा एमालेका नेता खोदनाथ चापागाइर्ंले बताए । 'चौधरी विर्तामोडमै लुकेर बसेको जानकारी पाए पनि भेटिएको छैन,' उनले भने, 'उनीसँग साझेदारीमा काम गर्नेले पनि धोका पाएका रहेछन् ।' चौधरीका आफन्त वीरेन्द्र राजवंशीका अनुसार पहिले पनि कोरिया पठाइदिने भन्दै उनले धेरै युवालाई बिचल्लीमा पारेका थिए । घटनापछि पीडितका आफन्तले चौधरीको शिवगन्जस्थित घरमा आगो लगाउने प्रयास गरे पनि प्रहरी सक्रियतामा सो कार्य असफल भएको थियो ।

No comments:

Post a Comment