काठमाडौं, जेष्ठ २४ - माओवादी युवा संगठन वाईसीएलले भारतको मेघालयमा नेपालीभाषीमाथि भएको ज्यादतिको विरोध गर्दै भारतीय राजदूतावासमा ज्ञापत्र पत्र बुझाएको छ । वाईसीएलले नेपाली भाषीहरूको सम्मानपुर्वक वाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न पनि आग्रह गरेको छ ।
भारतीय राजदूतावासमा सोमबार ज्ञापन पत्र बुझाउँदै वाईसीएलले मेघालयमा नेपाली भाषीहरूमाथि उच्शृङ्खल समूहद्वारा भएको ज्यादती, आगजनी, बर्बरता, हत्या र लुटपाटका घटनामा १९ नेपालीभाषीले ज्यान गुमाएको उल्लेख गरेको छ । 'मेघालयमा बर्षौंदेखि बस्दै आएका र आफ्नो श्रम सीपले भारतीय माटो मलिलो बनाएका नेपालीभाषीमाथि अनाहकमा बर्बर आक्रमण गरी १९ जनाको क्रुरतापुर्वक हत्या गरिएको घट्नाप्रति घोर भर्त्सना गर्दछौं,' वाईसीएल संयोजक गणेशमान पुनले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
नेपाली जनता र नेपालको तर्फबाट नेपालीभाषीहरू उपर भएको ज्यादतीकोबारेमा भारतीय पक्षको ध्यानाकर्षण गराउदा पनि भारतको आन्तरिक मामिलामा नबोल्न, टिप्पणी नगर्न नेपालीलाई दिएको चेतावनीप्रति वाईसीएलले खेद प्रकट गरेको छ । 'भारतलाई उसले नेपालको आन्तरिक मामिलामाथि जे गर्दै आएको छ त्यसको स्मरण गराउन चाहन्छौं,' ज्ञापत्र पत्रमा उल्लेख छ ।
जातीय तथा भाषिक सद्भाव कायम गर्न, अन्यायमा परेका नेपालीभाषीहरूलाई न्यायोचित क्षतिपूर्तिसहित पीडकलाई अविलम्व कडा कार्वाही तथा अंगभंग र घाइतेको निशुल्क उपाचार र क्षतिपूर्तिको व्यवस्था गर्न वाईसीएलले भारत सरकारको ध्यानाकर्षण गराएको छ ।
वाईसीएलले कन्चनपुर, सुस्ता, पशुपतिनगरलगायतका नेपालका विभिन्न स्थानमा भएको भूमि अतिक्रमण रोक्न माग गरेको छ । नेपाल-भारत सीमाक्षेत्रमा भारतीय सीमा सुरक्षा वल एसएसवीले मोरङका आफ्ना तीन कार्यकर्ता पक्राउ गरेको तथा सीमावर्ती इलाकामा नेपाली जनताहरूमाथि गरेको दुर्व्यवहार धरपकड, गिरफ्तार र धाक धम्कीको पनि विरोध गरेको छ ।
यसैगरी भारतद्वारा एकतर्फी रूपमा सप्तरी जिल्लाको गोवरगाढामा निर्माण गरेको ८ किलोमिटर लामो पाइलट च्यानलप्रति ध्यानकर्षण भएको जनाउँदै वाईसीएलले यसबाट कोशी धार पश्चिमतिर कटान गर्ने र नेपालको दर्जनौ गाउँहरू वर्षायाममा डुवानमा पर्नेप्रति सचेत गराएको छ । 'यसले सन् २००२ को गुगल म्यापनै परिर्वतन हुनेछ,' वाईसीएलले भनेको छ, 'यसबाट सप्तरीको भारदह, जोगनिया, हनुमान नगर, इनरुवा, रम्पापुर, मल्हानिया, सकरपुरा, गोवरगाढा, तिलाठी, लौनिया, लगायत एक दर्जन गाँउ डुबानमा पर्नेछन् ।'
ज्ञापनपत्रमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारत सरकारलाई आग्रह गरिएको छ । 'भारत सरकार र भारतीय कुटनैतिक व्यक्तिहरूद्वारा नेपालको आन्तरिक मामलामा कुटनैतिक मर्यादा विपरित वोल्नु राजनैतिक हस्तक्षेप भएकोले त्यस्तो कुटनैतिक मर्यादा विपरीत अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' वाईसीएलको ज्ञापन पत्रमा उल्लेख छ ।
No comments:
Post a Comment