Wednesday, June 23, 2010

पारबाहान सुविधाको उल्लंघनः खनाल



काठमाडौ, अषाढ - एमाले अध्यक्ष झलनाथ खनालले भारतबाट पारबाहान सुविधा उल्लंघन भएको बताएका छन् । कान्तिपुर पब्लिकेशन्सको एक हजार मेटिक टन न्यूजप्रिन्ट विगत २७ दिनेदेखि भारतको कोलकाता बन्दरगाहामा रोकिएको सर्न्दर्भमा उनले उक्त अभिव्यक्ति दिएका हुन् ।
बुधबार यस सम्बन्धमा बुझ्न कान्तिपुर पब्लिकेशन्स आइपुगेका एमाले अध्यक्ष झलनाथले २७ दिनदेखि न्यूजप्रिन्ट रोकिएकोमा दुःख लागेको समेत बताए ।
'यसबाट नेपलाको पारवाहान सुविधा प्राप्त गर्ने र दिने प्रक्रियाको उलंघन भएको बताए' उनले भने ।
उनले तत्काल भारतसंग कुराकानी गरी न्यूजप्रिन्ट खुल्ला गर्न सरकारसंग आग्रहसमेत गरे । 'पारवहन सुविधा पाउनुपर्छ, यो अवस्था आउनु दुःखद छ' उनले भने, 'सरकारले गम्भिरतापूर्वक लिइ भारत सरकारसँग कुरा गर्नुपर्छ ।'

छिमेकी माथिको हस्तक्षेपः भट्टराई
काठमाडौ, अषाढ - माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईले कान्तिपुर पब्लिकेशन्सको न्यूजप्रिन्ट रोक्ने कार्यले हस्तक्षेप देखाएको उल्लेख गरेका छन् । उनले राष्ट्रकै प्रतिष्ठित प्रकाशनले नियम संगत रुपमा गरिरहेको कामलाई रोक्नु हस्तक्षेप भएको दावी गरेका हुन् ।
'नेपालले अन्तराष्ट्रिय कानून अर्न्तर्गत प्राप्त पारवहन सुविधामाथि नै हस्तक्षेपभएको छ' समस्याबारे बुझ्न पब्लिकेशन्सको कार्यालयमा आएका भट्टराईले भने ।
उनले यस घटना प्रेस स्वतन्त्रता विरुद्घ भएको समेत उल्लेख गरे । 'कुनै छिमेकी मुलुकले आफूलाई चित्त नबुझेको कुरालाई यो रुपमा प्रस्तुत गर्नु आपत्तिजनक भएको उल्लेख गर्दै उनले भने, 'सरकारले पहल गरेर यसलाई तत्काल छुटाउनुपर्छ ।' भट्टराईले माओवादी पार्टीको तर्फबाट समेत आपत्ति जनाएका थिए ।
कान्तिपुर पब्लिकेशन्सले क्यानडा र दक्षिण कोरियाबाट आयत गरेको न्यूजप्रिन्ट भारतको कोलकातास्थित बन्दरगाहामा विगत २७ दिनेदेखि रोकिएको छ । पब्लिकेशन्सको भण्डारण गरिएको न्यूजप्रिन्ट सकिंदै गएकाले समस्यामा परेको छ ।

No comments:

Post a Comment